एकाइ - १
पाठ १ - आयुर्वेदको परिचय र महत्त्व
१. आयुर्वेदको परिभाषा
संसारमा अनेक किसिमका वस्तुहरू छन् कुनै सजीव छन्, कुनै निर्जीव छन्। मानिस चराचुरुङ्गी, गाई, भैंसी, माछा बादि सजीव हुन्। सजीवलाई प्राणी र जीव पनि भनिन्छ। जन्म लिनु, बढ्नु, सास फेर्नु, ज्ञान हुनु, यी जीवहरूमा पाइने विशेषताहरू हुन्। ढुङ्गा, माटो, काठ आदि निर्जीव पदार्थहरू हुन् ।
सजीव र निर्जीव पदार्थलाई छुट्याउने वस्तु जीवन हो। जीवन भनेको बाँच्नु हो। जुन प्राणी वरिपरीको वातावरणलाई बुभन, त्यसमा उपयोगी कुरा उपयोग गर्न, हानिकारक वस्तुबाट बच्न र अरूलाई बचाउन पनि सक्छ, त्यो बाँचेको भनिन्छ ।
संसारमा साना, ठूला अनेक किसिमका जीवहरू छन् । तिनीहरू सबै बाँचेका छन् । सबैको बाँच्ने अवधि भने फरक पाइन्छ। कुनै एक-दुई महिनामात्र बाँच्छन् । कुनै १५-२० वर्ष बाँच्छन् । मानिस १०० वर्षसम्म पनि बाँच्न सक्छ। यसरी कुनै जीव बाँच्ने पूरा अवधिलाई आयु भनिन्छ। सामान्य अवस्थामा कुनै जीव जन्मेपछि क्रमशः बढेर केही हदसम्म ठूलो हुन्छ, त्यसपछि विकास सीमित हुन्छ र केही समय बाँचेपछि मर्छ। यसरी जीवको जन्म भएदेखि मृत्यु नभएसम्मको अवधिलाई आयु मानिएको छ।
प्राणीको जीवन पूर्ण होस् अथवा अपूर्ण, त्यसले आफ्नो जीवन अवधि सुखका साथ बाँच्न चाहन्छ। शरीरमा कुनै अड्याआत्थु नभई, स्वतन्त्र रूपमा शरीरको सञ्चालन गर्दै, हाँस्दै, खेल्दै, रमाउँदै हिँड्न खोज्छ। त्यो जीवनको स्वाभाविक विकासको लक्षण हो। किन्तु त्यो स्थिति सधैं रहँदैन। कहिले शरीरको कुनै अङ्ग दुख्ने, नचल्ने, काम नगर्ने हुनसक्छ मन खिन्न वा उत्तेजित हुने पनि हुन्छ। यसरी जीवनको स्वाभाविक स्थिति एकतिर हुन्छ, अर्कोतिर बाधाद्वारा प्रभावित, दुःखी स्थिति पनि हुन्छ। ती दुईथरी जीवनलाई सुखी र दुःखी जीवन भनिन्छ ।
सुखमय जीवनको स्थितिलाई स्थायी राख्न, दुःखमय जीवनको अवधिलाई छोट्याउन एवम् हटाउन प्रत्येक प्राणी प्रयत्नशील हुन्छ । त्यसका लागि उसले जीवनको चिन्तन गर्छ जीवन के हो ? त्यो कसरी अडिएको छ ? जीवनको आरम्भ कुन कुराबाट कुन विधिले हुन्छ ? जीवनलाई बाधा पुऱ्याउने, रोगी बनाउने कारण के हो ? त्यसलाई हटाउने र त्यसबाट बच्ने उपाय के हो आदि। यी सबै चिन्तनको समयक्रमबाट उपलब्ध ज्ञान नै आयुर्वेद अर्थात् जीवनको विज्ञान हो। अर्को किसिमले भन्दा - जुन शास्त्रमा आयुको स्वरूप, घटकहरू, प्रकारहरूका साथै आयुलाई हित गर्ने र स्वस्थ राख्ने कुरा एवम् आयुलाई अहित गर्ने वा हानि पुऱ्याउने कुराहरूको वर्णन गरिन्छ, आयुमा बाधा पुऱ्याउने रोगहरूको कारण, लक्षण र उपचारको पनि वर्णन गरिन्छ त्यो शास्त्र आयुर्वेद हो।
२. आयुका घटकहरू
आयुको अस्तित्व जुन कुराहरूको मेलबाट सम्भव हुन्छ तिनीहरूलाई आयुका घटक भनिन्छ । आयुर्वेदमा शरीर, इन्द्रिय, मन र आत्मालाई आयुको घटक मानिएको छ। उक्त चारथरी मिलेर आयुको अस्तित्व हुन्छ । ती सबैमा शरीर स्थूल, स्पष्ट आँखाले देखिने, घट्न बढ्न सक्ने साथै अरू अडिने आधार भएको घटक हो। शरीरभन्दा इन्द्रिय सूक्ष्म छ, इन्द्रियभन्दा मन सूक्ष्म छ, मनभन्दा आत्मा सूक्ष्म छ। शरीरमा इन्द्रिय रहने स्थान देख्न सकिन्छ, इन्द्रिय देखिन्न। मनले कल्पना गरेको, चिन्तन गरेको, रमाइलो मानेको अनुभव गर्न सकिन्छ, मनलाई आँखाले देख्न सकिन्न ।
शरीर, इन्द्रिय र मन यी सबैलाई आफ्नो सम्बन्धद्वारा क्रियाशील, चेतन बनाउने तत्त्वको रूपमा आत्मा रहेको हुन्छ। आत्मा नै चेतना अर्थात् ज्ञानको आधार हुन्छ। आत्माको चेतना शरीरमा इन्द्रिय र मनको क्रियाद्वारा व्यक्त हुन्छ।
३. आयुका प्रकारहरू
आयु भनेको के हो ? आयु कसरी बन्छ ? भन्ने कुरा बुझेपछि आयु कति किसिमको हुन्छ ? भन्ने कुरा जान्न मन लाग्न सक्छ। मानिसको व्यक्तिगत र सामाजिक जीवनको हिसाबले आयुर्वेदमा चार किसिमको आयु मानिएको छ सुख आयु, दुःख आयु, हित आयु, अहित आयु।
मानिस अधवा अरू कुनै प्राणी स्वस्थ हुँदा त्यसको वृद्धि र विकास राम्रो हुन्छ ऊ समयमा सजिलै हुर्कन्छ, बढ्छ, मोटो, फुर्तिलो हुन्छ, त्यसमा पर्याप्त बल हुन्छ। यस किसिमको व्यक्तिको सुखी जीवनलाई सुख आयु भनिन्छ। यो सुख आयु धर्म र धन कमाउन, जीवनका विभिन्न इच्छाहरू पूरा गर्न र मोक्ष प्राप्त गर्न सहायक हुन्छ ।
सुख आयुको विपरीत आयुलाई दुःख आयु भनिन्छ। जस्तै रोग लागी राखेर हैरान भएको, शरीर निकै दुब्लो, शक्ति नभएको, रूप पनि बिग्रेको, आँखाले राम्रो नदेख्ने कानले राम्रो नसुन्ने भएको, अन्धो, लुलो, लंगडो, बहिरो, लाटो भएको, चिन्ता र डरले व्याकुल, निराशाले आत्तिएको, उमेर नपुग्दै बुढ्यौली लागी अशक्त भएको, बढी रिस उठ्ने, जाँगर कम हुने मानिसको जीवन दुःखै दुःखले भरिएको हुन्छ ।
मानिस समाजको वीचमा जन्मन्छ र हुर्कन्छ। अतः समाजको हितका लागि उसले आफ्नो बुद्धि, बल, श्रम र साधनको सही किसिमले उपयोग गर्न, त्यसद्वारा सामाजिक जीवनलाई गति दिन, त्यसलाई विकसित पार्न कस्सिनुपर्छ। समाजलाई हानि पुग्ने काम आफूले गर्नुहुँदैन, अरूलाई पनि सम्झाई बुझाई त्यस्तो कामबाट रोक्नुपर्छ, सही बाटो देखाउनुपर्छ। यसरी समाजको हितका लागि प्रयत्नशील व्यक्तिको जीवनलाई हित आयु भनिन्छ ।
हित आयुको विपरीत आयुलाई अहित आयु भनिन्छ । आफ्नो स्वार्थमा लिप्त हुने, अरूको श्रमको शोषण गर्ने, वातावरणलाई दूषित पार्ने, भ्रष्टाचार फैलाउने, दुव्र्व्यसनहरूलाई प्रश्चय दिने जालीझेली, फटाहा, धूर्त र मूर्खहरूको जीवन अहित जीवन हो, अहित आयु हो।
४. आयुर्वेदको प्रयोजन
आयुर्वेद एक जीवनोपयोगी शास्त्र हो। शास्त्रले सोचेको र विभिन्न कामहरूबाट सिद्ध गर्न खोजिएको लक्ष्यलाई प्रयोजन भनिन्छ ।
आयुर्वेद जीवनको विज्ञान भएको हुँदा जीवनको रक्षा गर्नु नै यसको प्रमुख प्रयोजन हुन्छ । त्यसका लागि एकतिर जीवनका साधनहरूद्वारा मानिसलाई स्वस्थ रूपमा बाँच्न सक्ने बनाउनुपर्ने हुन्छ। अर्कोतिर रोगहरूले आक्रमण गरेपछि तिनीहरूलाई हटाई फेरि स्वस्थ जीवनको अवस्थामा पुऱ्याउनुपर्ने हुन्छ। यसै भएर आयुर्वेदको प्रयोजन स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोगीको रोग निको पार्नु मानिएको छ। "प्रयोजनञ्चास्य व्याध्युपसृष्टानां व्याधिपरिमोक्षः, स्वस्थस्य रक्षणञ्च ।" सुश्रुतसंहिता, सू. १/१२
५. आयुर्वेदको महत्त्व
मानिस तथा अरू सबै प्राणीहरूको जीवनयात्रालाई धेरै समय लम्ब्याउन र त्यो अवधिलाई आनन्दमय र रचनात्मक बनाई सार्थक अवस्थामा पुऱ्याउन स्वास्थ्य अनिवार्य साधन हुन्छ। जीवनका चार प्रमुख लक्ष्य-धर्म, अर्थ, काम र मोक्ष मानिएका छन् । प्रत्येक व्यक्ति वा पुरुषले तीमध्ये कुनै दुई अथवा सबै आफ्नो विवेक र शक्तिअनुसार पाउन खोजेको हुन्छ। अतः यी चार लक्ष्यहरूलाई पुरुषार्थ भनिन्छ ।
धर्म, अर्थ र काम यी तीनै पुरुषार्थ सिद्ध गर्न स्वास्थ्य नभई हुँदैन। सुखका सामग्री जुटाउन, तिनीहरूको सही रूपमा उपयोग गर्न र उपयोगबाट आनन्द लिन स्वास्थ्य अनिवार्य हुन्छ। स्वास्थ्य के हो, कस्तो कुरा खाँदा कुन काम गर्दा स्वास्थ्य राम्रो हुन्छ, कुन खाना खाएमा रोग बढ्छ, रोगको उपचार कुन किसिमको औषधि, पथ्य खाना र आचरणबाट हुनसक्छ भन्ने कुरा आयुर्वेदबाट जान्न सकिन्छ ।
संसारमा भएको प्रत्येक वस्तु अवस्था हेरी औषधि हुनसक्छ। औषधि नहुने कुनै वस्तु हुँदैन। वस्तुको विशेषता जानी उचित ठाउँमा र समयमा प्रयोग गर्दा त्यो औषधि हुन्छ। विष मृत्युको कारण हुन्छ, प्रयोग गर्न जानेको खण्डमा त्यो पनि रोगको निवारण गर्ने एक साधन बन्छ । आयुर्वेदको ज्ञानका आधारमा नाफूवरिपरि सहज रूपमा पाइने, सही किसिमको शरीरलाई हित गर्ने आहारको सेवन र आचरणको पालन गरेर बढी खर्च विना स्वस्थ रहन सकिन्छ, रोग लागेको अवस्थामा पनि घरवरिपरि पाइने जडीबुटी, पथ्य खाना आदि जुटाई सेवन गरेर रोगहरूबाट मुक्त हुन सकिन्छ। यसरी आफ्नो वरिपरि उपलब्ध साधनहरूद्वारा स्वस्थ रहन मद्दत गर्ने विद्याको रूपमा पनि आयुर्वेदको महत्त्व छ।
आयुर्वेदमा प्रत्येक खाद्य पदार्थ कस्तो स्वादको र शरीरमा त्यसको राम्रो मेल छ वा छैन भन्ने विचार गरेर खाद्य पदार्थ प्रयोग गर्ने निर्देशन छ। खाद्य पदार्थ धोईपखाली, उपयुक्त भाँडामा राखी, सफा सुग्घर ठाउँमा बसी खाने आदि नियमहरू छन्। सामान्य तथा निरापद (हानि नगर्ने) मानिएका खाद्य पदार्थ पनि विचार पुऱ्याई प्रयोग गर्न सिकाइएको छ। सामान्यतया प्रयोग नगरिने खनिज पदार्थहरूलाई धेरैपटक शोधन गरेपछि त्यसको भस्म बनाई उचित औषधिको, अनुपानको मेलका साथ प्रयोग गर्ने विधि पनि छ। यस किसिमले आयुर्वेदमा निर्दिष्ट औषधि तथा खाद्य पदार्थहरू प्रयोग गर्दा हानिरहित एवम् दुस्प्रभावहरूबाट मुक्त पनि हुन्छन् ।
जुन देशमा मानिस जन्मेको अथवा हुर्केको हुन्छ त्यहाँको हावापानी, खाद्य पदार्थहरू सधैं सम्पर्क भइरहँदा शरीरलाई हित गर्ने हुन्छन्, त्यहाँ उत्पन्न औषधिहरू पनि समान जलवायु भएको हुनाले शरीरका अनुकूल हुन्छन्, तिनीहरूबाट उपचार बढी प्रभावकारी हुन्छ। कुनै नराम्रो परिणाम पनि हुन पाउँदैन। यसरी आयुर्वेदमा स्थानीय जडीबुटी र खाद्य पदार्थहरूलाई विशेष महत्त्व दिइएको पाइन्छ ।
अतः जीवनलाई बहुउपयोगी बनाउन समर्थ, सुलभ साधनद्वारा स्वास्थ्यको रक्षा तथा रोगको निवारण गर्न सक्षम, निरापद साधनको रूपमा आयुर्वेदको महत्त्व सिद्ध हुन्छ ।
शब्दार्थ
कार्यक्षमता = काम गर्न सक्ने शक्ति ।
रूप = वस्तुको रङ्ग, आकार, सुन्दरता ।
आकस्मिक = कुनै पनि वेलामा अचानक हुने। कारण स्पष्ट नदेखिएको ।
स्वाभाविक = स्वभाव अनुसार हुने। जस्तै-आगोले पोल्नु ।
क्रियाशील = काम गरिरहने।
चेतन = ज्ञान भएको।
पाचन = शरीरमा खाएको कुराबाट रासायनिक परिवर्तन भई पोषक तत्त्व लिने र अरू त्याग्ने काम ।
स्पन्दन = नसा, मुटु आदि चल्नु ।
असीमित = सीमा नभएको, यति-उति भन्न नसकिने, धेरै।
प्रयत्नशील = प्रयत्न गरिरहेको ।
वातावरण = वरिपरिको जमिन, हावा, पानी, घामको अस्तित्व ।
दुर्व्यसन = नराम्रो, स्वास्थ्यलाई हानि हुने काम, मादक पदार्थ सेवन, जुवा खेल्नु आदि।
व्यक्तिगत स्वास्थ्य = छुट्टाछुट्टै मानिसको स्वास्थ्य ।
सामाजिक स्वास्थ्य = समाजका सबै अङ्गहरूको स्वास्थ्य ।
रचनात्मक = मानिसको प्रतिभा, सिपको विकास हुने र समाजको पनि हित हुने काम, कला, सिप आदि।
सार्थक = कुनै उद्देश्य पूरा हुने अथवा फल दिने।
अभ्यास
१ निम्नलिखित प्रश्नहरूको छोटो उत्तर दिनुहोस् ।
(क) संसारमा कति किसिमका वस्तुहरू पाइन्छन् ?
(ख) सजीव कसलाई भनिन्छ ?
(ग) निर्जीव पदार्थ भनेको के हो ?
(घ) आयु भनेको के हो ?
(ङ) जीवनको स्वाभाविक विकास भन्नाले के बुझ्नुहुन्छ ?
(च) आयुको घटक भनेको के हो ?
(छ) आयुका घटक कुन-कुन हुन्छन् ?
(ज) स्वस्थ मानिसको जीवनलाई कुन आयु भनिन्छ ?
(झ) दुःख आयु कस्तो हुन्छ ?
(ञ) आयुर्वेदको प्रयोजन के हुन्छ ?
(ट) आयुर्वेद धर्म कमाउने साधन कसरी हुन्छ ?
२. सही उत्तरहरूमा (Ö) चिह्न लगाउनुहोस् ।
(अ) सजीव वस्तुमा कुन विशेषता पाइन्छ ?
(क) एकै ठाउँमा रहनु (ग) कुनै काम नगर्नु
(ख) सास फेर्नु (घ) स्थिर हुनु
(आ) मानिसको पूर्ण आयु कति मानिएको छ ?
(क) २५ वर्ष (ग) ७५ वर्ष
(ख) ५० वर्ष (घ) १०० वर्ष
(इ) कुन आयुको घटक हुन्छ ?
(क) वायु (ग) ढुङ्गा
(ख) शरीर (घ) माटो
(ई) आयुर्वेदको प्रयोजन कुन हो ?
(क) अस्पतालको निर्माण (ग) सामाजिक सेवा
(ख) जडीबुटी व्यापार (घ) स्वास्थ्यरक्षा
(उ) आयुर्वेदको चिकित्सामा कुन मुख्य विशेषता पाइन्छ ?
(क) धनीहरूको राम्रो उपचार (ग) सबै रोगहरूको उपचार
(ख) सुलभ साधनहरूबाट उपचार (घ) असाध्य रोगहरूको उपचार
३. अन्तर स्पष्ट पार्नुहोस् ।
(क) सजीव र निर्जीव पदार्थ (ख) जीवन र मृत्यु
(ग) हित आयु र अहित आयु (घ) सुख आयु र दुःख आयु
४. टिप्पणी लेख्नुहोस् ।
(घ) आयुर्वेदको प्रयोजन
(क) जीवनका लक्षणहरू
(ख) जीवनको स्वाभाविक विकास
(ङ) चार पुरुषार्थहरू
(ग) आयुका घटकहरू
५. खाली ठाउँ भर्नुहोस् ।
(क) संसारमा ........ र निर्जीव दुईथरी वस्तुहरू पाइन्छन् ।
(ख) जन्मदेखि ....... अवधिलाई आयु भनिन्छ ।
(ग) शरीर, ....... इन्द्रिय र आत्मा यी आयुका ....... हुन् ।
(घ) स्वस्थ मानिसको जीवनलाई ....... आयु भनिन्छ ।
(ङ) दुःख आयु भन्नाले ....... जीवन बुझिन्छ।
(च) आयुर्वेदको प्रयोजन स्वस्थ व्यक्तिको ....... रक्षा गर्नु र ....... रोग निको पार्नु हो।
(छ) आयुर्वेद चारै ....... मूल साधन हो।
(ज) आयुर्वेदद्वारा.......... साधनहरूकै भरमा ......... हुन र रोगको ....... गर्न सकिन्छ
(झ) ......... एक हानिरहित चिकित्सा पद्धति हो।
Comments
Post a Comment